चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु

230

चितवन । जिल्लामा हालसम्म १ सय १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत संक्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १ सय ७ शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

जिल्लामा हालसम्म पाँच हजार ९ सय २३ संक्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ । देशभरको कुल संक्रमणबाट मृत्यु भएकाको सङ्ख्या ९ सय ८४ रहेको छ । तीमध्ये १ सय १६ जनाको चितवनमा मृत्यु भएको हो । नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका संक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए । यहाँको संघीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो सङ्ख्यामा कोरोना संक्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउँछन् । पछिल्लो समय काठमाडौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

जिल्लाका अस्पतालहरुले ठूलो सङ्ख्यामा संक्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारी बताउँछन् । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुको बीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...