कोलकाता ६० रनले विजयी हुँदै प्लेअफ नजिक : राजस्थान प्रतियोगिताबाट बाहिरियो

183

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिइल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबै टोलीका लागि “गर या मर” को स्थितिमा रहेको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।

१ सय ९२ रनको विशाल लक्ष्यलाई पछ्याएको राजस्थानले १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानले सुरुवाती पाँच विकेट ३७ रनकाे स्थितिमा गुमाइसकेको थियो । जसमा रोविन उथप्पा ६, बेन स्ट्रोक्स १८, स्टेभन स्मिथ ४, सञ्जु सामसन १ तथा रियान पराग शून्य रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले राहुल तेवाटियासँग मिलेर टोलीलाई ८० रनको स्थितिमा पुर्याएका थिए । बट्लरले आउट हुनअघि २२ बलमा ३५ रन जोडेका थिए । यस्तै, तेवाटिया ३१ रनमा आउट भए ।

यसैगरी श्रेयास गाेपालले २३ तथा जाेफ्रा आर्चरले ६ रन बनाएपनि टाेलीलाई हारबाट बचाउन भने सकेन ।

राजस्थानलाई कम याेगफलमा राेक्ने क्रममा काेलकाताका प्याट कमिन्सले ५, शिभम् मावीले र वरूण चक्रवर्तीले समान २-२ विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको सुरुवात भने खराब रह्यो । कोलकाताका नितिश राना पहिलो ओभरको दोस्रो बलमा बलमा शून्य रनमा आउट भए । दोस्रो विकेटका लागि शुभमन गिलले राहुल त्रिपाठीसँग ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर ७३ रनसम्म पुर्याए । गिल ३६ तथा त्रिपाठी ३९ रनमा आउट भए ।

यसैगरी, कोलकाताका सुनिल नारायन र दिनेश कार्तिक पनि विना खाता खोली राहुल तेवाटियको बलमा आउट भए ।

कोलकाताका कप्तान इयान मोर्गानले कप्तानी पारी खेले । उनले ३५ बलमा अविजित ६८ रन बनाए । यसैगरी, आन्द्र रसेलले ११ बलमा ३ छक्का र एक चौकाको मद्धतमा २५ रन जोडे । यस्तै, प्याट कमिन्सले १५ तथा कमलेश नगरकोटी एक रनमा नटआउट रहे ।

राजस्थानका राहुल तेवाटियाले ३, कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर र श्रेयास गोपालले समान एक-एक विकेट लिए ।

राजस्थानमाथिकाे जितसँगै काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । काेलकाता प्लेअफमा पुग्नलाई हैदराबाद र मुम्बइबीचकाे खेलमा हैदराबाद पराजित भएमा मात्र सम्भव हुनेछ । यदि हैदराबाद विजयी भएकाे काेलकाता समूह चरणबाटै बाहिरिने छ । काेलकातासँग पराजित पञ्जाबले प्रतियाेगिताकाे पुछारमा रहँदै अन्त्य गरेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...