शहरी विकासमन्त्री श्रेष्ठद्वारा निर्माणाधीन संसद भवन र आवास गृहको अवलोकन

163

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवन र ललितपुरको भैँसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको आइतबार अवलोकन गरेका छन् । मन्त्रालयअन्तर्गतका गौरवका आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठ आज ती स्थानमा पुगेका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै भने, “गुणस्तरमा कुनै कमीकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण होस् । सरकारले आवश्यक जस्तोसुकै सहयोग गर्नेछ ।”

संघीय संसद भवन आयोजनाका प्रमुख प्रकृण तुलाधरले कोभिड १९ को संक्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताए । शहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै सम्झौता नहुनेगरी योजना अघि बढिरहेको बताए । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम अधिवेशन बस्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई उनले आग्रह गरे ।

सिंहदरबारको पुतलीबगैँचामा एक सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।

भवनको गत २०७६ असोज १ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भएपनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ ।

भैँसेपाटीस्थित आवासगृहको गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्ने गरी कामा भइरहेको छ । निवासको लागत रु ७२ करोड ४७ लाख छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...