अश्लिल सन्देश पठाउनेविरुद्ध मुद्दा

156

काठमाडौं । नक्कली फेसबुक पेज बनाइ अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्बिरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाइ गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिइ जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकालविरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...