कोरोनाबाट अर्घाखाँची, रुपन्देही र बाँकेका तीनको मृत्यु : सघन उपचार कक्ष अभाव

194

रुपन्देही । बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक संक्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ । संक्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।

यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ ।

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका-६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि-आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो । संक्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको छ ।

यसैबीच बाँकेमा आजै थप ६४ कोरोना संक्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९ सय ६३ पुगेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोराना संक्रमितको निको हुने दर ७६.८६ प्रतिशत छ । अब जिल्लाका विभिन्न आइसोलेसनमा ५ सय ६५ संक्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५ सय ५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...