बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

308

रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले मंगलबार गरेको पेट्रोल पम्पको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठीक रहेको पाइएको हो ।

टोलीले मंगलबार बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजर सेन्टर, बुटवल १३ जीतगढीस्थित गैरे पेट्रोल पम्प र एमएस पेट्रोल पम्पको अनुगमन गरेको हो । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकार निकायले बजार अनुगमनलाई निरन्तरता दिएको जिप्रकाका अधिकृत झविलाल भट्टराईले जानकारी दिए । बुटवलका तीन पेट्रोल पम्पमा मंगलबार पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्देशन दिइएको छ ।

अधिकृत भट्टराईका अनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए ।
अनुगमन गरिएका सबै पम्पमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताए । डिजल र पेट्रोलको गुणस्तर ठीक भए पनि पेट्रोल पम्प भने अझै व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ ।

गुणस्तर कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यसभन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए ।
पेट्राल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने पूरा नभएको पाइएको आयल निगमका वरिष्ठ सहायक सुवास काफ्लेले बताए ।

अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

चाडपर्वमा हुन सक्ने कालोबजारी, महँगी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताए । अनुगमन टोलीले कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलको अनुगमन गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...