कर्णालीमा थप १३१ जना कोरोना संक्रमित

142

कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा १ सय २३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण हुनेहरुमा सुर्खेतका १ सय ७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । “आज १ सय ३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल सङ्ख्या चार हजार ६ सय ५१ पुगेको छ,” उनले भने, “पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार मंगलबार ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५ सय ३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेसनमा ९ सय ६१ जना सक्रिय संक्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...