इरानमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

114

तेहरान  । इरानमा सोमबार कोरोना भाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २ सय ७२ जनाको मृत्यु भएको छ भने चार हजार २ सय संक्रमित थपिएका छन् ।

अरु कतिपय देशहरुमा झैं इरानमा पनि कोरोना भाइरसको महामारीविरुद्ध सरकारले चालेका कदम विवादित बनेका छन् ।

इरानमा दैनिक मृत्यु भएकाहरुको सङ्ख्या यो महिनामा तीन अंकमा पुगेको छ । त्यो सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुने र संक्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी अधिकारीहरुले राजधानी तेहरानको दैनिकीलाई नियन्त्रण गर्ने कडा व्यवस्थाको घोषणा गरेका छन् ।

हालै पूनः सञ्चालनमा ल्याइएका विश्वविद्यालय, विद्यालय, पुस्तकालय, मस्जिद, चलचित्र हल, संग्रालय, व्युटिपार्लर तथा सैलुनलगायतलाई फेरि बन्द गराइएको छ ।

सरकारले शनिबार मात्रै सार्वजनिकस्थलमा वा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । निर्देशनको उल्लङ्घन गरेमा दण्डित गरिने चेतावनी पनि सरकारी अधिकारीहरुले दिएका छन् ।

सरकारका प्रवक्ता अलि राबिएइले कारोना भाइरसको संक्रमण पुष्टि भएकाहरुका आधारमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यलाई पनि कडाईका साथ अगाडि बढाइने प्रतिबद्धता जनाए ।

सरकारले सुरुमा घरमै बस्न, बाहिर ननिस्कन, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भन्दै गरेको अपिललाई धेरैले पालना गरेपनि पछिल्लो समयमा फेरि उल्लङ्घन भएकाले संक्रमण दर थप बढेको सरकारी अधिकारीहरुको भनाइ छ ।

विश्वभरि महामारीको रुपमा कोरोना भाइरस फैलिन लागेका बेला सुरुमा इरान महामारीको केन्द्रविन्दु जस्तै भएको थियो । संक्रमित र मृत्यु भएकाहरुको सङ्ख्याका आधारमा इरान धेरै अगाडि रहेको थियो । तर अहिले भने दैनिक सयौँको मृत्यु र हजारौँ संक्रमित भएपनि इरान बढी प्रभावितहरुको सूचीमा १३औँ क्रममा रहेको छ ।

इरान अहिलेसम्म पाँच लाख चार हजार २ सय ८१ जना संक्रमित भएका छन् भने २८ हजार ८ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...