सप्तरीमा सांसद यादवसहित थप ४२ जनामा कोरोना संक्रमण

119

सप्तरी । जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षीया सांसद यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद यादवका छोरा प्रदेश सभा सदस्य अभिषेक यादवलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो । सोमबार आएको रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबैजना होम आइसोलेसनमा बसेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार प्रतिनिधिसभा सदस्य यादवसहित सोमबार सप्तरीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका चार जना कर्मचारी छन् । थपिएका संक्रमितमध्ये राजविराज नगरपालिका वडा नम्बर ६ का १७, वडा नम्बर ७ का १० र वडा नम्बर ९ का पाँच जना रहेका छन् । त्यस्तै खडक नगरपालिका –७ का दुई, बलान बिहुल गाउँपालिका–२ का तीन र सोही गाउँपालिका–३ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा एक हजार ४ सय ४३ संक्रमित पुगेको छ । तीमध्ये एक हजार १ सय २७ जना उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...