काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । प्रतियोगितामा चौथो जित हात पार्ने क्रममा कोलकात्ताले किङ्स इलावेन पञ्जावलाई २ रनले पराजित गरेको हो ।
१ सय ६५ रनको लक्ष्य पच्छाएको पञ्जावले ५ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि मयंक अग्रवालले लोकेश राहुलसँग १ सय १५ रनको शतकीय साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेन । राहुलले ७४, अग्रवालले ५६, निकोलस पूरनले १६ तथा ग्लेन म्याक्सवेलले १० रन बनाए ।
कोलकात्ताका प्रदिश कृष्णले ३ तथा सुनिल नारायनले २ विकेट लिए ।
यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा जस जितेर पहिलो ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । कोलकात्ताका कप्तान दिनेश कार्तिकल ५८, सुभमन गिलले ५७ तथा इयान मोर्गानले २४ रन जोड्दा अन्य ब्याट्यम्यानले दोहोरो स्कोरमा रन बनाउन सकेन ।
पञ्जावका मोहम्मद शामी, अर्शदीप सिंह र रवि बिस्नोइले समान एक-एक विकेट लिए ।
जितसँगै कोलकात्ता अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट ४ खेलमा जित निकाल्दै ८ अंक जोडेका कोलकात्ता रनरेटमा मुम्बइसँग पछि परेको हो । यस्तै, पञ्जाव भने ७ खेलमा दुई अंकसहित पुछारमा रहेको छ ।