ताइवानमा २ सय दिनदेखि कोरोनाका आन्तरिक संक्रमित शून्य

132

ताइपेइ, एएनआई । ताइवानमा पछिल्लो २ सय दिनदेखि कोरोना भाइरस आन्तरिक रुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।

विश्वभरि कोरोना भाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५ सय ५० जना मात्रै संक्रमित भेटिएका थिए ।

त्यसैगरी कोरोना भाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै दुइ करोड तीस लाख जनसंख्या रहेको छ ।

ताइवानमा सबैभन्दा पछिल्लो संक्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सफल देशको रुपमा ताइवानलाई लिन थालिएको छ ।

चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गरे ।

प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक वृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।

महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाई छ ।

यस्तो व्यवस्था जनवरीमै लागू गरिएको थियो । साथै ताइवानले सुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो ।

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्रयाकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...