भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्दो

133

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा शुक्रबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको सङ्ख्या पाँच हजार ५ सय नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १ सय ७५ पुरुष र दुई हजार ४ सय २१ महिला गरी कोरोना भाइरस संक्रमितको सङ्ख्या पाँच हजार ५ सय ९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।

कोरोना संक्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा गौतमले जानकारी दिइन् ।

त्यस्तै कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको उनले जानकारी दिए । कोरोना संक्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म संक्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको उनको भनाइ छ ।

त्यसैगरी कोरोना भाइरस संक्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६ सय १८ महिला गरी तीन हजार ६ सय ९९ संक्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा हाल एकहजार ४७ पुरुष र ७ सय ८१ महिला गरी एक हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये २ सय २२ पुरुष १ सय ३१ महिला गरी ३ सय ५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी एक हजार ७ सय ४७ अर्थात ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको बताए।

Share This:
सम्बन्धित खबर
Loading...