पछिल्लो २४ घन्टामा थप १,९५४ जनामा कोरोना संक्रमण पुष्टि : ११ जनाको मृत्यु

139

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप एक हजार ९ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी बुधबार दुई हजार ९ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ६ सय ४३ रहेको मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९६, ललितपुरमा १ सय १८ र भक्तपुरका २९ गरी काठमाडौं उपत्यकामा कूल ८ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार ८ सय २४ रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ८ सय ८७ पुगेको छ ।

कोरोना संक्रमितमध्ये हाल २ सय ९० जनाको आइसियूमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले जानकारी दिए । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७ सय ९ जना र होम आइसोलेसनमा ३१ हजार ९ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल दुई हजार ८ सय ८९ जना रहेका छन् ।

अब हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने
यसैगरी मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ । अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...