अमेरिकी मन्त्रीद्वय पोम्पेओ, एस्पर मंगलबार भारत आउने

267

नयाँदिल्ली, एएनआई । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा मंगलबार आउने भएका छन् ।

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरु भारत आउन लागेका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहेका छन् । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो ।

अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भने, “म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।”

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...