विश्वमा कोभिड-१९ संक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

131

वासिङ्टन, एएनआई । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरि चार करोड २९ लाख ४६ हजार ४ सय ४६ जना कोभिड-१९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ५४ हजार ८ सय ६२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमित मध्ये तीन करोड १६ लाख ७३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका बताइएको छ ।

कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख ३० हजार ६८ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् ।

कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७८ लाख ६४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति रहेका छन् भने ब्राजिलमा करिब ५३ लाख ८१ हजार व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ९७ हजार १ सय ६७ जना संक्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...