दसैँ आयो, रौनक आएन

181

ओखलढुङ्गा । घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दसैँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दसैँलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दसैँ भित्र्याउन सकिरहेका छैनन् ।

विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दसैँ स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दसैँको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो । दसैँमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्ष त्यस्तो केही छैन । ‘अरु वर्ष दसैँ खुुब रमाइलो हुुन्थ्यो । यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दसैँ कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे पनि सकिँदो रहेन छ’, सिद्धिचरण नगरपालिकाकी पार्वती श्रेष्ठले भनिन् ।

कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दसैँमा घर आउने चलन हुन्थ्यो, यस वर्ष ठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दसेँ मनाउने तयारीमा छन् । घरमा वृद्ध बुुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन् ।

समुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन् । शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टिनमा बसेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्लाजिल्लामा विशेष सुरक्षा योजना लागू गरेका छन् । सुनकोशी गाउँपालिकासहितका स्थानीय तहले दसैँमा पिङ खेल्न प्रतिबन्ध लगाएका छन् । कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउँछन् । बाहिरबाट गाउँआएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ ।

ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्ष नजाने योजनामा छन् । कोसेली लिएर आउने पाहुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ । त्यसैले पाहुुना स्वागत गर्न नागरिक त्यति आतुर छैनन् ।

कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दसैँका लागि चैतवैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपालि एक सुको कमाउन पाएनन् भने भएको पनि बचाउन सकेनन् ।

चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षोल्लासका साथ दसैँ मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दसैँ हुने अवस्था छैन ।

विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुगा अनिवार्य मान्नेहरु पुुरानामै चित्त बुझाइरहेका छन् । मन खुशी भए धन नभए पनि ऋण काढेर दसैँ मनाउन तम्सिने नेपालीहरु यस वर्ष दसैँ जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् ।

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन् । पसल खाली भएसँगै काठमाडौंमा व्यवसाय गर्दै आएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तो छैन । दसैँ लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन’, उनी भन्छन्, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दसैँमा रमाइलो गर्नुपर्छ ।’ रासस

Share This:
सम्बन्धित खबर
Loading...