कोरोना संक्रमणबाट साउदी अरबमा थप एक नेपालीको मृत्यु

148

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३ सय ३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १ सय २६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।

मास्कको प्रयोग गरौँ
मास्कको प्रयोग गर्नाले सयौँ मानिसको ज्यान जोगिने एनआरएन स्वास्थ्य समितिले जनाएको छ । मास्क प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न समितिले आग्रह गरेको छ ।
डा सापकोटाका अनुसार अमेरिका र युरोपका देशमा गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निश्कर्ष निकालेको छ । स्वास्थ्य समितिले सार्वजनिकस्थलमा निस्कँदा मानिसलाई सकेसम्म मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन अनुरोध गरेको छ ।

एक लाखको उद्धार
कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८ सय २९ नेपालीको उद्धार गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...