लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा रहेका लोपोन्मुख चेपाङ समुदायले बडादसैँ मनाउनका लागि राहत पाएका छन् । राससमा यही कात्तिक ४ गते ‘चेपाङ समुदायलाई दसैँ मनाउनकै चिन्ता’ विषयमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले शनिबार राहत वितरण गरेको हो ।
बेँसीशहर नगरपालिका–११ चिती बरबोटमाका १० घर र दोर्दी गाउँपालिका–९ भीरकुनाका चार घर गरी १४ घरलाई प्रतिपरिवार १५ किलोका एक बोरा चामल, दुई किलो दाल, एकएक पोका नुन र सोयाबिन, एक लिटर तेल र एक पोका कुकिज सहयोग गरिएको हो ।
सो सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सीमान्तकृत समुदाय चेपाङ गरिब भएका कारण दसैँ मनाउन समस्या भएको थाहा पाएपछि राहत सहयोग गरिएको बताए । दसैँ मनाउन चिन्तामा रहेका उनीहरुले राहत पाएपछि धेरै खुशी हुँदै प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए ।
दसैँ सुरु भएको सातौं दिन अर्थात् फूलपातीको दिनसम्म दसैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने ५७ वर्षीय पूर्णबहादुर चेपाङले बताए । स्थानीयवासी तिलकबहादुर चेपाङले भने, “विगतमा दसैँका बेला सहयोग प्राप्त हुँदै आएको थियो । हामीले सहयोगका भरमा दसैँ मनाउँदै आइरहेका छौँ ।”
वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई गत वर्ष गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि अर्थाभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुश्किलले जीवन निर्वाह गर्दै आइरहेका छन् ।
उनीहरुले केही वर्ष अघिसम्म मर्स्याङ्दी नदीमा माछा मारेर जीविका निर्वाह गरे पनि पछिल्लो समय जलचर लोप हुँदै गएपछि सो पेशा अंगाल्न सकेका छैनन् । यहाँका अधिकांश चेपाङ खुलेर आफ्ना समस्या अरुसामु राख्न सक्दैनन् ।