नयाँदिल्ली, एएनआई । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८ सय १२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७ सय २ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६ सय १६ जना पुगेको छ ।
मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा विगत सात दिनको तथ्याङ्क विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३ सय २१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २ सय ९७, ब्राजिलमा ६ सय ९२, स्पेनमा ८ सय १९ र संयुक्तराज्य अमेरिकामा एक हजार १ सय ९५ मा कोरोना देखिएको छ ।
यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १ सय ४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १ सय ६९, फ्रान्समा ५ सय ११, बेलायतमा ६ सय ४४ र संयुक्तराज्य अमेरिकामा ६ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् ।
कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६ सय ९६ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।