भारतमा दैनिक संक्रमितको सङ्ख्यामा क्रमश कमी आउँदै

202

नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।

कोरोना भाइरसको महामारी सुरु भएदेखि वृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो ।

दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्याङ्मा देखिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाका कारण ७ सय १७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितहरुको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

कूल संक्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि तथ्याङ्कमा देखिएको छ ।

भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो ।

संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६७ लाख ९५ हजार १ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १५ हजार ९ सय १४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७ सय ५५ जना संक्रमित अवस्थामै रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...