पार्टी नेतृत्व लिन नेता सिटौला तयारी गर्दै

170

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गरे । दिनानुदिन नागरिक संक्रमणको चपेटामा परिरहेका बेला उपचार र संक्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले औँल्याए ।

अर्को प्रसङ्गमा उनले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर कांग्रेस अघि बढ्ने बताए । “महाधिवेशनबाटै कांग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ”, उनले भने । सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे ।

सिटौलालाई कांग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए । सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आएका थिए । उनीहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्किए ।

Share This:
सम्बन्धित खबर
Loading...