प्रतिनिधिसभा सांसद श्रेष्ठको दसैँभत्ता मिर्गौलापीडितलाई

201

दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दसैँभत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दसैँ खर्चबापतको रु ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६/१६ हजार सहयोग गरिनेछ ।

देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दसैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए । सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे ।

“अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो”, उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...