एजेन्सी । कोरोना भाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भइ तीब्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन् ।
नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।
राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए तर विरोधपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएका हुन् ।
विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताएका छन् ।
प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उहाँसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
दरबारको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पु¥याउँदैन ।”
विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका थिए ।
नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ ।