खाँदबारी नगरपालिकाद्वारा कृषकलाई मिनीटिलर वितरण

211

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो वितरण गरेको छ।

परम्परागत कृषि पेसालाई व्यवसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ वटा आधुनिक हलो (मिनीटिलर) उपलब्ध गराएको हो । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । किसानले राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्न नगर प्रमुखले खतिवडाले आग्रह गरे।

नगरभित्रका किसानलाई व्यवसायिक कृषि प्रणालीको सुरुवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारीले जनाएको छ । प्रतिगोटा ६३ हजार २ सय ५० रुपैयाँ मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरेको खाँदबारी नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले बताए ।

नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ वटा मिनीटिलर एक करोड ७७ लाख एक हजार रुपैयाँ मूल्य बराबरको टिलर वितरण गरेको जनाएको छ । नगरका ११ वटा वडाका कृषक तथा कृषि समूहलाई एक(एक वटाका दरले टिलर उपलब्ध गराइएको हो ।

नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ । आधुनिक हलो पाएपछि गोरुलाई घाँसपात गर्न समयको बचतले कृषि पेसामा सहज हुने खाँदबारी-१० का सविन विश्वकर्माले बताए ।

स्राेत : रेडियाे सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...