खसी, बोका, भेँडा, च्याङ्ग्रा : रातो हैन हरियो

248

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरिद गर्न आग्रह गरेको छ । दसैँका लागि काठमाडौं ल्याइएका निरोग खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दसैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।

चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । काठमाडौंको ठूलो खसी बजार भनेको कलङ्की हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे ।

कामपाका कलङ्की र टुकुचामा खसी बजार छ । यसैगरी दसैँका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरी, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुङ्गा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ ।

काठमाडौं ल्याइने च्याङ्ग्राहरुको सङ्कलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौं चौपाया खरिदबिक्री प्रालिले यसपटक दसैँमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...