गणेश अपार्टमेन्टमा प्रहरीको छापा : २३ किलो सुन बरामद

156

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीबाट शनिबार पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले  गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २ सय ५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २ सय ६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि शनिबार जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाइ जाँच गर्दा उक्त परिमाणका  सुन र चाँदी बरामद भएको बताए ।

सोक्रममा केही सुनसँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...