प्रदेश दुई : कोरोना संक्रमणमुक्त हुनेकाे संख्या १२ हजार बढी

131

महोत्तरी । प्रदेश २ मा कोभिड–१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६ सय २० मध्ये संक्रमण मुक्त हुने १२ हजार २ सय ७२ पुगेको प्रदेश दुई स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६ सय २० मा संक्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २ सय ७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । यो प्रदेशमा कोभिड–१९ महामारीले १ सय ५९ जनाको ज्यान गएको छ । संक्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६ सय ८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा संक्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको संक्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा संक्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा बढी संक्रमण पुष्टि भएको थियो । भदौमा संक्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउँछन् ।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९ सय १९, असारमा एकहजार ८ सय ९७ र साउनमा तीनहजार ५४ जनामा संक्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुईहजार माथि संक्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...