‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को लोकार्पण

246

काठमाडौं । कवि तथा गीतकार पुरुषोत्तम ढकालको कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को शुक्रबार लोकार्पण गरिएको छ ।

कृति लोकार्पण गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त साहित्यिक कृति उत्कृष्ट र गीति एल्बम राष्ट्रिय भावनाले ओतप्रेत भएको बताउँदै समाजका विसङ्गतिको दृष्टिकोण र मानिसमा हुने दानवीय रुपलाई ढकालले कवितामा चित्रण गरेको बताए ।

समाजमा मानवीय संवेदना र प्रेमभाव जगाउने प्रवृत्तिलाई प्रोत्साहन गर्ने बेला भएको उल्लेख गर्दै उनले नकारात्मक भाव हटाउँदै देशप्रेमको भावना जगाउन र समाज रुपान्तरण गर्ने सवालमा कविताको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । नेता नेपालले भने, “कविताको माध्यामबाट जुनसुकै विषयमा मानिसलाई तरङ्गित पार्न सकिन्छ, उत्प्रेरित गर्न सकिन्छ, त्यसमा कविहरु सफल पनि हुन्छन् ।”

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले मानवीय प्रेमसहित प्राकृतिक विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरी राजनीतिक व्यङ्ग्यमूलक लेखनका लागि लेखकलाई बधाई दिए ।

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले कति लेख्नेभन्दा पनि के लेख्ने र कसरी लेख्ने भन्ने कुराले कविताको अर्थ राख्ने बताए । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं वरिष्ठ कवि श्यामल अधिकारीले ढकाल परिष्कृत ढङ्गले कविता लेख्ने कविका रुपमा आफूले पाएको बताए ।

अधिकारीले भने, “ढकालले अझै उत्कृष्ट कविताको खोजी गरी समाजसँग संवाद गर्दै उनीहरुको उद्वेग ल्याउन सक्षम हुने विश्वास गर्छु ।” अधिकारीले कविले नयाँ सम्भावना, शैली र भाषाको समेत खोजी गर्नुपर्नेमा जोड दिए । समालोचक प्रा डा खगेन्द्रप्रसाद लुुईँटेलले कवि ढकाल चलायमान र विषयलाई कवितात्मक शैलीमा ग्रहण गर्ने क्षमता भएका व्यक्ति हुन् भने ।

Share This:
सम्बन्धित खबर
Loading...