खुवालुङ हाम्रो मात्र होइन, सम्पूर्ण देशकै सम्पदा हो : दयाहाङ राई

346

काठमाडाैं । ‘आफूभन्दा इतरका मानिसलाई कहिल्यै मानिस नदेख्ने परम्परा छ,’ अभिनेता दायहाङ राई आक्रोशित सुनिए, ‘हाम्रा मूल्य, मान्यता, दर्शन हामीले थाह नपाउँदै मासिन्छन् । निमोठिन्छन् ।’

अभिनेता राईको यो आक्रो खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध थियो । ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने अभिव्यक्ति दिएका थिए । खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण किरात समुदाय आक्रोशित भएको छ ।

यही आक्रोशको शीलशिला थियो अभिनेता दयाहाङको अभिव्यक्ति । बिहीबार राजधानीमा आयोजिनक खुवालुङ सरोकार समहूको अवधारण पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले भने, ‘खुवालुङ हाम्रो मात्र होइन । यदि किरातलाई यो देशको नागरिक मानिन्छ भने खुवालुङ सम्पूर्ण देशकै सम्पदा हो ।’

कोसीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ रक्षार्थ भन्दै गठन भएको खुवालुङ सरोकार समूहले बिहीबार ६ बुँदे अवधाराण पत्र समेत सार्वजनिक गरेको छ ।

सरोकार समूहका सदस्य समते रहेका अभिनेता राईले आफूभन्दा इतर जातिका आस्था, संस्कृतिलाई विकासको बाधकका रुपमा नदेख्न समेत आग्रह गरे ।

कार्यक्रममा उत्तम सुनुवारले किराँत समुदायका हरेक घर र चुल्होसँग जोडिएको खुवालुङलाई ढुंगाको रुपमा मात्र हेरेमा राज्यसँग मुडभेडको अवस्था उत्पन्न हुने चेतावनी दिए ।

अधिवक्ता समेत रहेका भीम राईले किरातीको आस्थाको केन्द्र खुवालुङ संरक्षणका लागि अदालतको ढोकासम्म पुग्ने उद्घोष गरे । सरोकार समूहका संयोजक तथा लेखक राजन मुकारुङले पनि राज्यले खुवालुङ नफुटाउने लिखित प्रतिवद्धता व्यक्त नगरेमा कानुनी प्रक्रियामा जाने बताए ।

खुवालुङलाई फुटाउनुभन्दा आन्तरिक पर्यटकको केन्द्र बनाउन सुझाउँदै मुर्तिकार धनु याख्खाले भने, ‘समग्र समुदायको आस्थामाथि प्रहार गर्नुभन्दा उत्तम विकल्प त, खुवालुङलाई आन्तरिक पर्यटकिय गन्तव्य बनाउनुहुन्छ । राज्यले यतातिर ध्यान देओस ।’

कवि चन्द्रवीर तुम्बापोले खुवालुङ फुटाएमा पार्दा समग्र किराँत जातिको इतिहास समाप्त हुने चिन्ता व्यक्त गर्दै भने, ‘खुवालुङसँगै सुरु हुने किराँतको इतिहास समाप्त हुन्छ । इतिहास समाप्त हुनु भनेको जरा उखेलिनु सरह हो ।’

प्रदेश १ का मुख्यमन्त्रीले खुवालुङ फुटाउने सरकारी योजना नभएको बताएपनि किराँत समुदाय र सरोकार समूहले राज्यले लिखित प्रतिबद्धा व्यक्त गरेमा मात्र आन्दोलन रोक्ने बताएकाछन् । सरोकार समुहले खुवालुङ सम्बन्धी ऐतिहासिक दस्तावेज संकलन गर्ने । खुवालुङ क्षेत्रको विकासका लागि पहल गर्ने पनि बताएको छ ।

यस अघि २४ फागुनमा आदिवासी जनजाति लेखक संघ, किराँत राई विद्यार्थी संघ, बृहत् नागरिक आन्दोलन तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध कार्यक्रम पनि आयोजना गरिसकेका छन् । किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । बराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...