काठमाडौंलाई हराउँदै पुलिस क्लब मेयर्स कपको फाइनलमा

408

काठमाडौं । ‘काठमाडौं मेयर्स कप’ अन्तर्गत नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा पुलिसले काठमाडौं मेयर्स–११ लाई १ सय ३ रनले पराजित गरेको हो ।

पुलिसले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको काठमाडौंले ३१.२ ओभरमा अलआउट हुनअघि ९४ रन मात्र बनाउन सक्यो ।

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौंका लागि लामिछानेले सर्वाधिक २६ रन जोडे । यस्तै, कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेन ।

पुलिसका पवन सर्राफले ४, दीपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले पनि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको मध्यम योगफल बनाएको थियो ।

राम्रो सुरुवात गरेको पुलिसका कुशल भुर्तेल र सुनिल धमलाले अर्धशतकीय साझेदारी गरे । भुर्तेल ३४ तथा धमला २२ रनमा आउट भए ।

योगेन्द्र सिंह कार्कीले ४०, पवन सर्राफले २८, दीपेन्द्र सिंह ऐरीले २४ तथा दिलिप नाथले १२ रन बनाए ।

काठमाडौंका हरिशंकर साह, सन्दीप लामिछाने र विपिन खत्रीले ३ विकेट लिए ।

जितसँगै पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अंक तालिकामा एपिएफ दोस्रो, आर्मी तेस्रो र बागमती प्रदेश चौथो स्थानमा रहँदा काठमाडौं भने पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...