बागलुङको बिकट गाउँ सल्यानमा केन्द्रीय बिजुली बल्यो, विपन्न घरधुरीलाई निःशुल्क मिटर वितरण

529
  • थम्मन थापा

बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन् । बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।

केन्द्रीय विद्युत् प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मीटर वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । विपन्न घरधुरीलाई केन्द्रीय विद्युत् सेवाबाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताए ।

सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उनले उल्लेख गरे । केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानिय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रीय विद्युतको पहुँचमा जोडिएका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडा भित्रका १ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिलेदेखि नै बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरमा रहेको ट्रान्सफर्मरमार्फत केन्द्रीय विद्युत उपभोग गर्दै आइरहेका छन् । योसँगै सल्यान पूर्णरूपमा केन्द्रीय विद्युतीकरण‌ भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिए ।

विपन्न परिवारले निःशुल्क मिटरबक्स प्राप्त गरेपछि खुशी भएका छन् । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवाबाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । घरमा केन्द्रीय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताइन् ।

सल्यानमा केन्द्रीय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताए । लामो समयदेखि केन्द्रीय विद्युत बाल्न आफूहरु प्रयासरत रहेको र विद्युत बाल्न सफल भएको उनले उल्लेख गरे । लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाइ छ ।

सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गरेका छन् । त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मिटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिए ।

कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राखेका थिए । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकसँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगदसहित सम्मान प्रदान गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...