प्रचण्डकाे टिप्पणी : ‘माधवजी र मलाई ओलीले अन्याय गरे’

118

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि अन्याय गरेको बताएका छन् ।

पार्टी एकतापछि आलोपालो अध्यक्षता गर्ने भनिएपनि ओलीले कहिल्यै पनि आफूलाई अध्यक्षता गर्न नदिएको अनुभव सुनाउँदै प्रचण्डले पार्टी एकताको एक महिनामै छलछाम गरेको जानकारी पाएको बताए ।

उनले भने, ‘माधवजीलाई ४ जिल्लामा सीमित गर्ने ओलीको योजना रहेछ, मलाई पनि अन्याय गर्दै गएपछि माधवजी र म एक ठाउँमा भयौँ, मैले माधवजीलाई समर्थन गर्न थालेँ ।’

पार्टी एकतापछि केपी ओलीले आफूलाई दुई नम्बरी बनाइदिएको उनको टिप्पणी छ । शिक्षकहरुको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले ओलीले बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिइ दुई नम्बरमा झारेको बताए ।

भेलामा प्रचण्डले भने, ‘अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एक दिन पनि मानेन् । तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिइहालेँ । पछि त उहाँले मलाई दुई नम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुई नम्बरी ।’

अर्को प्रसंगमा प्रचण्डले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाईँ नै हो भनेर ल्याएको बताए । तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत सुनाए ।

Share This:
सम्बन्धित खबर
Loading...