गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्षमा गोगंजु

225

पोखरा । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेकाले नेपालमा पुनः मूल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् ।

गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसियसनको २६औँ वार्षिक साधारण सभा एवं १३औँ महाधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै, कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्न सक्ने संकेत गरेका हुन् । निगमले फागुन ४ गते मात्रै डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

कार्यकारी निर्देशक पौडेलले प्रतिलिटर एक रुपैयाँ मूल्य घट्दा निगमलाई दैनिक ८० लाख रुपैयाँ घाटा हुने उल्लेख गर्दै, विश्व बजार र इण्डियन आयल कर्पोरेशनको मूल्य समायोजनका आधारमा निगमले निर्धारण गर्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले भारतबाट आएको इन्धन कम मुल्यमै उतै तस्करी हुने गरेको भन्दै, सिमा क्षेत्रका पम्पहरुलाई खरिद बिक्रीको लगत राख्न निर्देशन दिइएको उल्लेख गरे । उनले सिमा क्षेत्रमा जर्किनबाट समेत इन्धन तस्करी भएको उल्लेख गर्दै, त्यसलाई नियन्त्रण गर्न कठिन भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले पम्प संचालन अनुमतिका लागि निवेदनको चाङ लागेको उल्लेख गर्दै, अध्ययन बिना नयाँ पम्पलाई संचालन अनुमति नदिइने स्पष्ट पारे । पेट्रोलियम पदार्थको गुणस्तरका लागि सरकारी निकाय बाणिज्य तथा नापतौल र निगमकाबीच नै सहकार्य हुन नसकेको उल्लेख गर्दै पौडेलले समन्वयको खाँचो रहेको बताए ।

कार्यक्रममा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले निगमको डिपोसँग खरिद गरेको परिमाण ब्रिक्री गर्ने समयमा नपुग्ने उल्लेख गर्दै, व्यवसायीहरुले घाटाको व्यापार गर्नु परेको बताए । उनले तापक्रमका आधारमा हुने इन्धनको नोक्सानीको पूर्तिका लागि व्यवसायीको माग निगमले गंभिरता पूर्वक नलिएको बताए । प्रधानले यान्त्रिक गडवढीका कारण हुने लसले व्यवसायीले दुःख व्यहोर्नु परेको भन्दै, स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिए ।

एसोसियसनका अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा आयल निगमको गगनगौडा डिपो भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख मनोज ठाकुर, गगनगौंडा डिपो प्रमुख पुस्कर कार्की, नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख तिलक केसी, संस्थाका संस्थापक अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बिल बहादुर गुरुङ्ग, गण्डकी ट्यांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली, लगायलते शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...