विराटनगर ६ साउन । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकत्ताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएसगै तेस्रो मुलुकबाट आयात हुने सामाग्रीको ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।
भारत र तेस्रो मुलुकबाट नेपाली उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उहाँहरुको भनाइ छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभइ समय पनि ठुलो बचत हुने बताउनुभयो ।
उहाँले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताउनुभयो । कोलकत्ताबाट ३५० किलो मिटरको दुरी पार गर्दै आएको कार्गो रेल गत आइबार विराटनगरस्थित वन्दरगाहमा आइपुगेको थियो ।
रेलमा ल्याइएको सामान उतारेर उक्त सेवाको शुभारम्म गरिएको घोषणा भने हिजो मंगलबार गरिएको हो ।
अध्यक्ष राठीले रेल सञ्चालनमा आएपछि बन्दरगाहमा लाग्ने विलम्बलगायतका शुल्क घट्ने हुँदा नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोलेर कन्टेनर समेत उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीको वर्षौँदेखिको सपना पछिल्लो प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ ।
नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग गर्दैआएको थियो ।
दुवै देशका सरकारले त्यस सम्बन्धि नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ ।
सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी/व्यापारीलाई लाभदायक हुने बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारी आवाज र प्रयासलाई मूर्तरुप दिएको भनी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।