काठमाडौँ, ६ साउन । नेपाली काङ्ग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभइ मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको हो ।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि काङ्ग्रेसलाई यो सङ्कटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिनुभयो । “नेपाली काङ्ग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्योभन्दा विषम परिस्थिति छ,” उहाँले भन्नुभयो, “काङ्ग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने सङ्केत देखिँदै छ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।”
नेता बरालले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उहाँको समूहमाथि गम्भीर आरोप लगाउनुभयो । उहाँले पार्टीलाई गोलचक्करमा फसाएको र आत्मबोधको कमीका कारण मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी विभाजित हुँदा यो देशको मेरुदण्ड मानिएको नेपाली काङ्ग्रेस कमजोर भएको छ । मेरुदण्ड नै कमजोर भएपछि न व्यवस्था बलियो हुन्छ, न राष्ट्रियता ।” पार्टीको क्रियाशील सदस्यता विवादका सम्बन्धमा उहाँले कडा टिप्पणी गर्नुभयो । सभापति थापाले जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गर्नुलाई उहाँले हुकुमी शैलीको संज्ञा दिनुभयो ।
काङ्ग्रेसको विधान अनुसार नेतृत्वमा पुग्न निश्चित वर्षको निरन्तर क्रियाशील सदस्यता चाहिने व्यवस्था उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्रियाशील सदस्य कसैले खारेज गरेर खारेज हुँदैनन् । यदि सबै खारेज भएको मान्ने हो भने नेतृत्वकै १५ वर्षे निरन्तरतामा प्रश्न उठ्छ र उहाँहरू आफैँ पनि खारेज हुनुहुन्छ ।” अहिले अद्यावधिकका नाममा देशभर आतंक सिर्जना गरिएको उहाँको ठहर छ ।
बरालले काङ्ग्रेस अहिले विपी कोइरालाको आदर्श र बिपीवादबाट विमुख भएकोमा पनि रोष प्रकट गर्नुभयो । सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर र राष्ट्रियताका सवालमा काङ्ग्रेसको आवाज कमजोर भएको उहाँको दाबी छ । “सानेपामा नेतृत्व गर्ने साथीहरू सरकारका साझेदार हुन् कि दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको छ,” उहाँले अगाडि भन्नुभयो, “संसद्मा काङ्ग्रेसको आवाज सत्ताको छाया जस्तो देखिएको छ ।”
नेता बरालले १५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी खोल्ने तयारीका रूपमा नलिन आग्रह गर्नुभयो । उहाँले यो केवल समान विचार भएका साथीहरूबिचको तयारी मात्र भएको प्रष्ट पार्नुभयो ।
तथापि, सार्थक संवादको अभावमा पार्टी एकता सङ्कटमा परेको उहाँले स्वीकार गर्नुभयो । नेतृत्वले तीन लाइनको इमानदार वक्तव्य निकालेर बिपीवादमा फर्कने र अधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने उहाँको विश्वास छ ।
पार्टी नेतृत्वको भविष्यका बारेमा बोल्दै बरालले काङ्ग्रेससँग अनुभवी र निष्कलङ्क नेताहरूको कमी नभएको बताउनुभयो । उहाँले डा.शशाङ्क कोइराला, डा.शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला जस्ता नेताहरूलाई डिजिटल लोकप्रियताको नाममा बदनाम गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षदेखि पुराना नेताहरूलाई कुरुप बनाउने र बदनाम गर्ने भाष्य स्थापित गर्न खोजिएको छ, जुन यथार्थ होइन । केवल डिजिटल लोकप्रियताले मात्र देश चल्दैन ।”
नेता बरालले काङ्ग्रेसका सबै तहका नेता र कार्यकर्तालाई जिम्मेवार बन्न र आत्मसमीक्षा गर्न अपिल गर्नुभयो । चरम महत्त्वाकाङ्क्षा र उक्साहटमा लागेर पार्टीलाई कमजोर बनाउनुभन्दा देशको लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि एक ठाउँमा उभिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
नेतृत्वले सार्थक वार्ताको तत्परता देखाएमा र बिपीका आदर्शलाई पुनः स्थापित गरेमा मात्र काङ्ग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो ।
पार्टी नेतृत्वको हठले व्यवस्था र राष्ट्रियता नै जोखिममा
नेता बरालले पार्टी नेतृत्वको अदूरदर्शिता र घमण्डका कारण पार्टी मात्र नभइ मुलुकको व्यवस्था र राष्ट्रियता नै गम्भीर सङ्कटमा परेको बताउनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको गैरजिम्मेवारीपनले विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिलेको दाबी गर्नुभयो ।
उहाँले विशेष महाधिवेशन र त्यसपछिका कानुनी प्रक्रियाहरू बदनियतपूर्ण भएता पनि कानुनी राज्यको सम्मान गर्दै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरेको प्रष्ट पारे । तर, सबै पक्षलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउने मुख्य जिम्मेवारी नेतृत्वकै भएको उहाँको तर्क छ । “हिजो शेर बहादुर देउवा र सुशील कोइरालाले हरेक निर्णय सर्वसम्मत गर्थे, तर अहिलेको नेतृत्वको जिद्दिपन र घमण्डले पार्टी र मुलुक दुवैलाई अप्ठ्यारोमा पारेको छ,” उहाँले भन्नुभयो ।
नेता बरालले पार्टी एकताका लागि आफूहरू पद त्याग गर्न समेत तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी मिल्छ भने हामी पद छोडेर बाहिर बस्न तयार छौँ, तर नेतृत्वले संवादका नाममा कहिले मेची–महाकाली त कहिले औँशी–पूर्णिमाको बहाना गरेर पन्छिन खोजिरहेको छ ।” उहाँले काङ्ग्रेसका ४६ प्रतिशत असन्तुष्ट जनमत र चार पुस्ताको लगानीलाई उपेक्षा गरेर पार्टी अगाडि बढ्न नसक्ने चेतावनी दिनुभयो ।
वैचारिक विचलनको मुद्दा उठाउँदै बरालले बिपीको प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको बाटो समात्नुले पार्टीलाई थप कमजोर बनाएको उल्लेख गर्नुभयो । संसद्मा काङ्ग्रेसको भूमिका निरीह र लाचार देखिएको टिप्पणी गर्दै उहाँले नेतृत्व सत्ता साझेदारको सहयात्री जस्तो मात्र देखिएको आरोप लगाउनुभयो ।
हाल उपचारका क्रममा विदेशमा रहनुभएका शेर बहादुर देउवा करिब एक सातामा स्वदेश फर्किने जानकारी दिँदै बरालले देउवासँग आफू निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । उहाँले समयमै नेतृत्वले आत्मसमीक्षा नगरे काङ्ग्रेस र देश दुवै ठुलो दुर्घटनातर्फ धकेलिन सक्ने आशङ्का व्यक्त गनुभयो । –नेपाल न्युज बैङ्क