भुटेको मकै मानव स्वास्थ्यका लागि अधिक गुणकारी

360

एजेन्सी । भुटेको मकै गाउँघरको सामान्य खाजा हो । कतिपयले त यसलाई गरिबको खाजा पनि भन्छन । त्यसैले भुटेको मकै कतिपय शहरियाहरुको रोजाइमा पर्दैन ।

फास्टफुडमा रमाएको पुस्ताले त मकै मन पराउनै छाडिसकेको छ । तर भुटेको मकै फुला (पपकर्न) स्वास्थ्यका लागि निकै गुणकारी खाद्य पदार्थ हो ।

यसमा चिनी, नून या चटपटे मसला जस्ता चिजहरु नमिसाइकन खाँदा धेरै फाइदा हुन्छ । भुटेको मकै फुला अर्थात पपकर्नमा रहेको फाइबरले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । तसर्थ खाना पचाउन समस्या भएकाहरुले पपकर्न खानु उपयुक्त हुन्छ ।

पपकर्नमा बी कम्प्लेक्स भिटामिन, भिटामिन ई, मिनरल्सले मानव शरीरको पाचन तन्त्रलाई सुधार्न धेरै सहयोग गर्छ । यदी तपाँई आफ्नो तौल घटाउने योजनामा हुनुहुन्छ भने, अन्य बस्तु खानुको सट्टा भुटेको मकै खानुहोस । किनकी एक कप पपकर्नमा ३० क्यालोरी मात्रै हुन्छ ।

पपकर्नमा भएको क्यालोरीको यो मात्रा एक कप आलु चिप्समा हुने क्यालोरी भन्दा ५ गुणा कम हो । पपकर्नमा रहेको फाइबरले तपाँईको भोक मेटाउन सघाउँछ ।

त्यस्तै शरीरमा क्यालोरीको मात्रा पनि बढ्न दिंदैन । त्यसैगरी नियमित रुपमा पपकर्न खानेहरुलाई क्यान्सर हुने खतरा कम हुन्छ ।

भुटेको मकैमा पोलीफिनोल नामक तत्व हुन्छ । यसले क्यान्सर हुने सम्भावनालाई कम गर्छ । यसका साथै मुटुलाई पनि स्वस्थ राख्छ ।

अमेरिकन ईन्स्टिच्युट फर क्यान्सर रिसर्चका अनुसार पपकर्नमा पाइने पोलीफिनोल तत्वले क्यान्सर उत्पन्न गराउने एन्जाइमको उत्पादन नै रोकिदिन्छ ।

त्यसैगरी पपकर्नमा ग्लाइसेमिक इन्डेक्स धेरै कम हुन्छ । ग्लाइसेमिक इन्डेक्सको सम्बन्ध कुनै पनि खाद्य पदार्थको सेवनपछि मानव शरीरमा बृद्धि हुने ब्लड सुगर लेबलसंग सम्बन्धित हुन्छ ।

जसअनुसार जुन खानेकुरामा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, त्यसको सेवनले शरीरमा सुगरको मात्रा पनि बढ्न दिंदैन । अर्थात भुटेको मकै खाँदा मधुमेह जस्तो दीर्घ रोगबाट पनि बच्न सकिने मेडिकल न्युज टुडेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...