स्थानीयद्वारा क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो आयोजनाको काम ठप्प

135

खाँदबारी । अरुण तेस्रो आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसियटको टिपरको ठक्करले मृत्यु भएका खड्गबहादुर राईका आफन्तले अरुण तेश्रोको काम ठप्प पारेका छन् ।

उनीहरुले उत्तरदक्षिण कोसी सडकमा शनिबारपनि सडक अवरुद्ध पारेका हुन् । भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि राईको घटनास्थलमै शुक्रबार मृत्यु भएको थियो । आफन्त र छिमेकीले क्षतिपूर्ति माग राख्दै शव समेत उठाएका छैनन् । उनका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । फ्याक्सिन्दामा अरुण तेश्रोको बाँध र पावरहाउस जाने सुरुङ्ग निर्माणाधिन अवस्थामा छ ।

मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्न माग गर्दै जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । प्रहरीले टिपर चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिइसकेको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्र नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन आउँदै थिए ।

टिपर पछाडी फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुन टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीय आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज मल्लसहित टोली शुक्रबार साँझ घटनास्थल पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...