- सन्तोषी रावल
ललितपुर, ११ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर २१ स्थित ऐतिहासिक तथा सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने विस्तृत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समावेशी बाजागाजा प्रशिक्षण समितिको आयोजना तथा वडा कार्यालयको विशेष सहयोगमा सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य मौलिक बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै यसैमार्फत पर्यटन र आर्थिक विकासमा टेवा पुर्याउनु रहेको छ ।
पछिल्लो समय आधुनिकीकरणको बढ्दो प्रभावका बीच पनि मौलिक कला र संस्कृति जोगाइराख्ने परम्परागत शैलीहरू अझै पनि गाउँघर र टोलटोलमा जीवन्त छन् । यसैको उत्कृष्ट उदाहरण हो, नेवार समुदायको विशिष्ट पहिचान बोकेको ‘धिमे नाच’ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको यो अत्यन्तै लोकप्रिय र प्राचीन नृत्य हो, जसलाई ‘धिमे’ बाजाको रौनकमय तालमा नाचिन्छ ।
नेवाः संस्कृति र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै निरन्तरता दिन वडा कार्यालयले यस कार्यक्रममा सहयोग गरेको वडाअध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो । नेपाल न्युज बैङ्कसँगको टेलिफोन संवादमा उहाँले धिमे नाच विशेष गरी खुसीयाली, उमङ्ग र उत्सवको प्रतीक भएको जनाउनुभयो । उहाँका अनुसार इन्द्रजात्रा, बिस्केट जात्रा, रातो मच्छिन्द्रनाथको भोटो जात्रालगायत उपत्यकाका अन्य स्थानीय जात्रा तथा पर्वहरूमा धिमे नाच र बाजा नभइ नहुने मुख्य आकर्षणका रूपमा रहने गर्छ ।
प्राचीन कालदेखि नै कृषि पेसामा आबद्ध नेवार समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा प्रकृतितर्फ कृतज्ञता प्रकट गर्न यो नाच नाच्ने परम्परा छ । यसका साथै विवाह, व्रतबन्ध, गुठीका पूजाआजा र अन्य सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा पनि अतिथिको सत्कार र मनोरञ्जनका लागि धिमे नाच नाच्ने गरिन्छ ।
यस नाचको अर्को मुख्य आकर्षण भनेको परम्परागत भेषभूषा हो । महिलाहरू रातो किनारा भएको कालो साडी (हाकु पटासी), चौबन्दी चोलो, कम्मरमा पटुकी र परम्परागत गहनामा सजिन्छन् भने पुरुषहरू नेवारी पोसाक ‘तापाल्न’, सुरुवाल, कम्मरमा पटुकी र शिरमा कालो भादगाउँले टोपी ढल्काएर नाच्ने गर्छन् ।
धिमे नाच मनोरञ्जनको साधन र देखावटी कला मात्र नभइ यसले सिंगो नेवार समुदायको समृद्ध कला, गौरवशाली इतिहास र जीवनशैली झल्काउने वडाध्यक्ष महर्जनले प्रस्ट पार्नुभयो । यसले समुदायका मानिसलाई एकै ठाउँमा भेला गराई एकता, आपसी सद्भाव र भाइचारा बढाउन ठुलो भूमिका खेल्ने उहाँले बताउनुभयो । पछिल्लो समय परम्परागत संस्कारहरू हराउँदै गएकोमा महर्जनले चिन्ता व्यक्त गर्नुभयो ।
“आधुनिकीकरणले गर्दा कतै हाम्रा मौलिक परम्पराहरू हराउँदै जाने हुन् कि भन्ने चिन्ता थियो, तर अहिले युवा पुस्ताले पनि धिमे बाजा बजाउन र नाच्न देखाएको उत्साहले हामीलाई आशावादी बनाएको छ,” महर्जनले भन्नुभयो । –नेपाल न्युज बैङ्क