पहिरोले विद्यालय भवन बगायो

1

हुम्ला, ६ जेठ । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्क बहादुर तामाङले जानकारी दिनुभयो ।

चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने यकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

उहाँले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताउनुभयो । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घन्टा पैदल यात्रा गर्नुपर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...