उपराष्ट्रपति पुनद्वारा ल्हाेसारकाे शुभकामना व्यक्त

288

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होच्छार–२८५७ र शेर्पा तथा हिमाली आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्वो ल्होसार–२१४८ को उपलक्ष्यमा शुभकामना दिएका छन् ।

शुभकामना शन्देशमा पुनले भने, “सोनाम ल्होच्छार र ग्याल्वो ल्होसारको अवसरमा देश–विदेशमा रहनुभएका तामाङ, शेर्पा, हिमाली आदिवासी दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलूक हो । हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव हुन् । सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका हाम्रा धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरुको संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ ।

काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको पहिचान छ । तामाङ सेलो गीत, टुङना र डम्फुको संगीत आज नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको छ । हिमाली भेग आदिम थलो भएका शेर्पा समुदाय भाषा, धर्म, संस्कृति, पम्परा तथा सभ्यतामा धनी समुदाय हो । हिमाल आरोहण तथा पर्यटनको माध्यामबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो शक्ति शेर्पा समुदाय हो । हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय लगायतका आदिवासी जनजातिका भेषभुषा, भाषा, धर्म संस्कृति, रहनसहनले त्यो भन्दा बढी सुन्दर बनाएको छ ।

मान्यजनबाट टिका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिइने सोनाम ल्होच्छार र ग्याल्वो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याउनुका साथै सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।

दशकौंको संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य हो । मुसा वर्गको विदाई र गाई/गोरु वर्गको स्वागत गरि मनाइने सोनाम ल्होच्छार र ग्याल्वो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...