मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरू, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागु

12

काठमाडौँ, १६ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुभएको छ ।

मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि मन्त्रालयले तत्काल समस्या पहिचान र समाधान गर्न यस्तो प्रणाली सुरू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार मन्त्री रावलले अब देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा अनुगमन गर्न सक्नुहुने छ । डिजिटल प्रणालीमार्फत प्राप्त हुने विवरणका आधारमा सेवा प्रवाहमा देखिने अवरोध, ढिलासुस्ती तथा प्राविधिक समस्याबारे तत्काल जानकारी लिन र आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयका अनुसार यस प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ । साथै, मालपोत कार्यालयहरूमा हुने अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

सरकारले डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियानलाई थप तीव्र बनाइरहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...