विश्व जल दिवस : उपत्यकाका खोलामा जलजीव बाँच्न असम्भव, ढल मिसावट नै मुख्य चुनौती

18
  • प्रमिला कार्की

काठमाडौँ, ८ चैत । काठमाडौँ उपत्यका भित्रका नदी–खोलाहरू पार गर्दा नाक थुन्न बाध्य हुने अवस्था आज सामान्यजस्तै बनेको छ । पुलमाथि उभिएर तल हेर्दा पानी बगेजस्तो देखिए पनि त्यसबाट आउने तीव्र दुर्गन्धले ‘यो स्वच्छ नदी होइन, ढल मिसिएको प्रदूषित बहाव हो’ भन्ने प्रष्ट हुन्छ ।

यी खोलाहरू आज मानव गतिविधिको चापले थलिएका छन्, जहाँ पानी त बग्छ, तर जीवन बग्दैन । काठमाडौँ उपत्यकाभित्रका नदी–खोलाहरू अहिले बाहिरी रूपमा बगिरहेको देखिए पनि वास्तविकतामा ती खोला ढलमा परिणत भइसकेका छन्, जहाँ जलजीव बाँच्ने अवस्था नै छैन ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार विगत केही वर्षयता मेलम्ची खानेपानी आयोजनाबाट नियमित रूपमा पानी आपूर्ति हुन थालेपछि भने उपत्यकाका केही खोलामा पानी बग्न थालेको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले दैनिक करिब १७ करोड लिटर पानी उपत्यकामा भित्रिने गरेको बताउनुभयो । तर, त्यो पानी पनि खोलामा मिसिँदा सफा नभइ ढलसँग मिसिएर पुनः प्रदूषित बन्ने गरेको भन्दै त्यस्तो पानीमा माछालगायत कुनै पनि जलजीव बाँच्न सम्भव नरहेको उहाँले बताउनुभयो ।

“पानी बगिरहेको देखिए पनि त्यो ढलजस्तै हो । त्यस्तो पानीमा माछा लगायत कुनै पनि जलजीव बाँच्न सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार उपत्यकाका प्रमुख नदी–खोलाहरू-बागमती नदी, बिष्णुमती नदी, धोवी खोला र टुकुचा खोला-सबैमा मुख्य समस्या अव्यवस्थित ढल व्यवस्थापन नै रहेको छ । घरायसी र व्यवसायिक क्षेत्रबाट निस्कने फोहोर पानी सिधै खोलामा मिसिँदा पानीको गुणस्तर अत्यन्त खराब बनेको उहाँको भनाइ छ ।

सरकारले समस्या समाधानका लागि विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गरिरहेको जनाएको छ । गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र यसको एउटा उदाहरण हो, जहाँ प्रशोधनपछि तुलनात्मक रूपमा सफा पानी खोलामा छोडिने गरिएको छ ।

श्रेष्ठका अनुसार गुहेश्वरीमा प्रशोधन गरिएको पानी निकै सफा हुन्छ, तर माथिल्लो क्षेत्रमा नै ढल मिसिएको पानी आउने भएकाले समग्र सुधार देखिएको छैन । यसैगरी धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको चरणमा रहेको छ, जसले धोवी खोलाको प्रदूषण घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

उहाँले केवल केही प्रशोधन केन्द्र सञ्चालन गरेर मात्र समस्या समाधान नहुने भन्दै हरेक खोलाको मुहानदेखि नै सुधार गर्दै ल्याउनुपर्ने बताउनुभयो । स्रोतमै प्रदूषण रोक्न सके मात्रै दीर्घकालीन समाधान सम्भव हुने धारणा राख्नुभयो । हालको अवस्थामा काठमाडौँका नदी प्रणालीमा जलजीव बाँच्न सक्ने अवस्था नभएको उहाँले स्वीकार गर्नुभयो । तर, दीर्घकालीन योजना अन्तर्गत नदीहरूको गुणस्तर सुधार गरी पुनः जीवन्त बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको नदी प्रणालीलाई पहिलाकै अवस्थामा ल्याउने गरी जानै पर्ने हुन्छन् ।अहिलेको स्थितिसम्म चाहिँ कुनै पनि पानीजन्य जीवहरु बाच्न सक्ने खालका हाम्रो काठमाडौँको नदी प्रणालीमा छैन । तर, अब दीर्घकालीन रुपमा हामी हामीसँग प्लान छ।”

उपत्यकाका नदीहरू केवल पानी बग्ने माध्यम मात्र नभइ यहाँको सभ्यता, संस्कृति र सहरी सौन्दर्यसँग पनि जोडिएका छन् । तर, अहिलेको प्रदूषित अवस्थाले सहरको स्वरूप नै कुरूप बनाएको छ । उपत्यकाका खोलाहरूमा अहिले पानी बग्न थाले पनि त्यो जीवनयोग्य छैन । जलजीव बाँच्न नसक्ने अवस्था सुधार गर्न संरचनागत सुधार, प्रभावकारी ढल व्यवस्थापन र दीर्घकालीन योजना कार्यान्वयन अपरिहार्य देखिएको छ । पानी संरक्षण र स्वच्छता सुनिश्चित गर्नु आजको आवश्यकता मात्र होइन, भविष्यको अस्तित्वसँग जोडिएको विषय बनेको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...