म्याग्दी, ५ चैत । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।
बेनीमा रहेको एकीकृत सेवा कार्यालयमार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले एक करोड ४० लाख रूपैयाँ बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायब सुब्बा सुवास सुवेदीले जानकारी दिनुभयो ।
बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन (नक्साङ्कन), लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । पाँच/पाँच लाख रूपैयाँ बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगङ्गा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो ।
मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाँडागाउँ पदमार्गलाई १०/१० लाख रूपैयाँ, मालिका–३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई छ/छ लाख रूपैयाँ विनियोजन भएको छ । पाँच लाख रूपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ ।
१० लाख रूपैयाँ बजेट विनियोजन भएको चिमखोलादेखि काली बराह पदमार्ग र आठ लाख रूपैयाँ बजेट विनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ । पाँच/पाँच लाख रूपैयाँ बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताउनुभयो ।
मङ्गला गाउँपालिका–४ को गम्फाधुरी–दापु–छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थानदेखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् । रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मूलपानीदेखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दिर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको टिकोट–सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुँदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधिन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरुको सम्झौता भइसकेको एकीकृत सेवा कार्यालयले जनाएको छ ।