मलङ्गवा, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भइ विभिन्न मतदान केन्द्र तथा निर्वाचनसम्बन्धी कार्यमा खटिएका निर्वाचन प्रहरीहरूलाई कार्यावधि सम्पन्न भएपछि आज औपचारिक रूपमा बिदाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित उक्त बिदाई कार्यक्रममा निर्वाचन अवधिभर खटिएका प्रहरीहरूले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले निर्वाचन प्रक्रियालाई सुरक्षित र विश्वसनीय बनाउन निर्वाचन प्रहरीहरूले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले निर्वाचनका क्रममा चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, जिम्मेवारी र कर्तव्यपरायणताका साथ खटिएकोमा सबै निर्वाचन प्रहरीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै आगामी दिनहरूमा पनि यस्तै समर्पण र इमान्दारिताका साथ राष्ट्र र नागरिकको सेवामा लागिरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप प्रहरी उपरीक्षक खड्काद्वारा खटिएका निर्वाचन प्रहरीहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।