थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व को रौनक

11

म्याग्दी, १८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो ।

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उहाँले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्‌गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् ।

तोरन ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुष परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिला भने मौलिक भेषभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् । थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरू भएको छ । यस वर्ष चुनावको समय भएकाले निर्वाचन आचारसंहिताको पालना गरेर थकाली समुदायका सदस्य मात्र भेला भएर तोरन ल्ह पर्व मनाउन लागिएको थकाली सेवा समितिका शङ्करमान शेरचनले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...