- सन्तोषी रावल
काठमाडौँ, १४ फागुन । नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक राजनीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आउनुभएका नेता ईश्वर पोखरेल आज पनि राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
नेकपा (एमाले)का वरिष्ठ नेताका रूपमा पोखरेलले लामो राजनीतिक संघर्ष, उतारचढाव र आन्दोलनका चरणहरू पार गर्दै आफ्नो पहिचान स्थापित गर्नुभएको छ । राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँ सधैँ धैर्य, संयमता र निरन्तरताको पक्षमा उभिने नेता मानिनुहुन्छ ।
युवा अवस्थामै राजनीतिक चेतना बोकेका पोखरेलले २१ वर्षको उमेर पार गर्दै पूर्णकालीन भूमिगत राजनीतिक यात्रामा होमिनुभएको थियो । २३ वर्ष पुग्दा नै उहाँ केन्द्रीयस्तरको जिम्मेवारीमा पुग्नुभएको थियो । सानो उमेरदेखि नै विचार, संगठन र आन्दोलनमा सक्रिय रहँदै आउनुभएका उहाँले त्याग, तपस्या र राजनीतिक संघर्षमार्फत लोकतान्त्रिक विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
लामो राजनीतिक यात्रामा थकान नमान्ने नेता पोखरेल हाल काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा जनताको बिचमा सक्रिय हुनुहुन्छ । चुनावी अभियानका क्रममा उहाँ घरदैलो कार्यक्रममै व्यस्त देखिन्छन जनताका समस्या सुन्ने, आफ्ना एजेण्डा स्पष्ट रूपमा प्रस्तुत गर्ने र संवादमार्फत विश्वास जित्ने उहाँको शैलीलाई मतदाताले सकारात्मक रूपमा लिइरहेका छन् ।
पोखरेलको व्यक्तित्वको अर्को विशेषता भनेको उहाँको सरलता र शिष्ट व्यवहार हो । उहाँ कसैलाई पनि हेपेर नबोल्ने, सबैसँग समान व्यवहार गर्ने र नयाँ राजनीतिक शक्तिहरूलाई समेत सम्मानपूर्वक सम्बोधन गर्ने नेताका रूपमा चिनिनुहुन्छ । यही कारणले उहाँ जनताको मनमा बस्न सफल हुनुभएको छ ।
आजको संक्रमणकालीन राजनीतिक अवस्थामा अनुभव, संयमता र राष्ट्रिय दृष्टिकोण भएका नेता आवश्यक रहेको चर्चा भइरहेका बेला, धेरैका लागि ईश्वर पोखरेल त्यही आवश्यकताको प्रतीकका रूपमा उभिनुभएको छ । –नेपाल न्युज बैङ्क