दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

16

गण्डकी, ११ फागुन । आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुवाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उहाँले जानकारी दिनुुभयो । “प्रहरीबाट प्राप्त जानकारीअनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,” उहाँले भन्नुभयो ।

उक्त बसको चालक सुजित नेपाली रहेको र उहाँको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

महानगरप्रमुख आचार्यद्वारा दुःख व्यक्त
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गर्नुभएको छ ।

महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

“राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु।” उहाँले भन्नुभएको छ ।

दुर्घटनामा घाइते हुनुभएका २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै उहाँले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहनुभएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...