राजनीतिक क्षेत्रलाई उज्यालो र सफा गर्न आएका छौँ : कुलमान घिसिङ

10
  • रविन्द्र प्रताप गुप्ता

रुपन्देही, १० फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सबैभन्दा ठुलो लोडसेडिङ राजनीतिक क्षेत्रमा रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा अनियमितासँगै यो क्षेत्र दुर्गन्धित र अध्यारो रहेको बताउनुभयो ।

उज्यालो नेपाल पार्टी रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक क्षेत्रलाई उज्यालो र सफा गर्न उज्यालो नेपाल पार्टी आएको र यो पार्टीले राजनीति क्षेत्रमा रहेको दुर्गन्धलाई पहिला हटाउने बताउनुभयो ।

उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि र आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको उहाँले बताउनुभयो । उहाँले जेनजी आन्दोलनको मागअनुसार र ती मागलाई सम्बोधन गर्न पार्टी स्थापना भएको बताउनुभयो । उहाँले टेस्टेड पार्टी नयाँ नभएको बताउनुभयो ।

उहाँले उज्यालो नेपाल पार्टी गफ गरेर र सोसल मिडियामा हल्ला गरेर नआएको दाबी गर्नुभयो । मन्त्री हुँदा तीन महिनामा देशमा विकास निर्माणका काम कसरी काम गर्न सकिन्छ भनेर परिणाम र उदाहरण दिएको उहाँले दाबी गर्नुभयो । आफूहरुसँग रोडम्याप र भिजन मात्र नभइ कार्यान्वयन गर्ने क्षमता पनि रहेको उहाँको दाबी छ ।

यो देशमा धेरै किसिमका बेथिति र अध्याराहरु रहेको एउटा क्षेत्रको अध्यारोलाई हटाइएको उहाँले जिकिर गर्नुभयो । अब समग्र क्षेत्रको अध्यारोलाई हटाएर धेरै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरीब परिवारको अनुहारमा उज्यालो ल्याउन आएको उहाँले बताउनुभयो ।

आफूहरु सरकारमा स्थापित भएपछि अरुले १० वर्षमा गर्न नसकेको काम १ वर्षमा गरेर देखाउने उहाँले दाबी गर्नुभयो ।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य किरण विकले उज्यालो नेपाल पार्टीले सबैभन्दा योग्य उम्मेदवार जनतासमक्ष पठाएको बताउनुभयो । जेनजी आन्दोलनको म्याण्डेट, मर्मलाई स्वीकार्ने सबैभन्दा पहिलो नेता कुलमान घिसिङ भएको उहाँले दाबी गर्नुभयो ।

पार्टीकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरोज सिंह चौधरी राजनीतिक स्थायीत्व र देशलाई निकास दिनका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले इमान्दार र काम गर्ने नेतृत्वलाई अघि बढाउँदा देश पक्कै पनि उज्यालोमय हुने दाबी गर्नुभयो । -रासस

Share This:
सम्बन्धित खबर
Loading...