काङ्ग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.महत

15

नुवाकोट, १० फागुन । नेपाली काङ्ग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गर्नुभएको छ ।

दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू ऊर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गर्नुभयो ।

“गोल्फु भञ्ज्याङ्ग, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो । त्यसबाहेक स्कुल, स्वास्थ्य चौकी, खानेपानी साथै बिजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो । म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन् । एक पटक डा.रामशरण महतलाई एमाले–माओवादी गठबन्धन गरेर काम गर्ने व्यक्तिलाई हराइयो । उहाँलाई हराएकाले विकासको काम बन्द भयो । पछि फेरि हामीले पनि गठबन्धन गरेर ठाउँ छाड्यौँ । तर, विकासको काम भएन,” उहाँले भन्नुभयो, “नयाँ दलले त के गर्नु, कुन दुलोबाट आउँछन् कता हराउँछन् थाहा छैन ।’

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले रोकिएका विकासका कामहरुले अब निरन्तरता दिने बताउनुभयो । उहाँले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...