काठमाडौँ, ७ फागुन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देश विषम् परिस्थितिमा रहेका बेला राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो भूमिकालाई अझ परिस्कृत गरेर लैजानुपर्नेमा जोड दिनुभएको छ । राससको ६५औँ वार्षिकोत्सवका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा राससले सही सूचना जनतामा प्रवाह गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्दै आएको उल्लेख गर्नुभएको छ ।
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रहनुभएका डा.यादवले सन्देशमा भन्नुभएको छ, ‘‘मुलुक आम निर्वाचनको सङ्घारमा रहेका बेला निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष र धाँँधलीरहित वातावरणमा सम्पन्न गराउन राससको भूमिका महत्त्वपूर्ण रहन्छ ।” उहाँले सूचना प्रविधिको विकाससँगै सञ्चारका क्षेत्रमा व्यापक आएको परिवर्तनलाई स्वीकार गर्दै आधिकारिक, तथ्यपरक र विश्वसनीय समाचार सम्प्रेषणमा राससले ध्यान दिनुपर्दछ भन्नुभयो ।
परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताउँदै पूर्वराष्ट्रपति डा.यादवले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको उल्लेख गर्नुभएको छ । राससले आफ्नो सेवाहरू समयसापेक्ष परिमार्जन र विविधीकरण गर्दै विश्वसनीयतालाई अझै बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।